सामाजिक सञ्जालमा चुनाव जिताउने ‘प्याकेज’
- पैसा लिएर उम्मेदवारको सम्पूर्ण डिजिटल प्रचार, प्रतिस्पर्धीका गतिविधिमाथि निगरानी र मतदाता प्रतिक्रियालाई ‘रियल–टाइम’मा व्यवस्थापन गर्ने ‘डिजिटल वार रुम’ शैलीका सेवा उपलब्ध गराउने गरी वेबसाइटहरूको तँछाडमछाड
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन हुन एक महिना एक साता मात्र बाँकी छँदा इन्टरनेट र सामाजिक सञ्जाल प्लाटफर्महरू राजनीतिक भाषण वा ‘अपडेट’ले मात्र भरिएका छैनन्, ‘चुनाव जिताउने प्याकेज’ आशयका अनौठा सेवा र ‘एआई म्यासेजिङ’, ‘भोटर फनेल’ जस्ता नयाँ अवधारणका विज्ञापनसमेत देखिन थालेका छन् । उम्मेदवारको सम्पूर्ण डिजिटल प्रचार, प्रतिस्पर्धीका गतिविधिमाथि निगरानी र मतदाता प्रतिक्रियालाई ‘रियल–टाइम’मा व्यवस्थापन गर्ने ‘डिजिटल वार रुम’ शैलीका सेवा उपलब्ध गराउने गरी वेबसाइटहरू नै निर्माण भएका छन् ।
अरू बेला विभिन्न व्यवसाय, व्यक्ति र ‘ब्रान्ड’का लागि डिजिटल मार्केटिङ गर्ने कतिपय एड एजेन्सी र आईटी कम्पनी अहिले ‘उम्मेदवारी तपाईंको, रणनीति हाम्रो’, ‘तपाईं फिल्डमा, हामी मोबाइलमा’, ‘एभ्री थिङ यु निड टु विन’, ‘जनता सुन्दैनन् कि तपाईं पुग्न सक्नुभएको छैन ? हामी तपाईंलाई दिन्छौं, सही डिजिटल रणनीति’, ‘कन्भर्ट सिटिजन्स टु भोटर्स’ जस्ता नारासहित चुनावी प्रचार सेवा उपलब्ध गराउन अग्रसर भएका छन् ।
प्रभावकारी भाषण र सन्देशहरू सिर्जना गर्न केहीले ‘एआई टुल’ उपलब्ध गराउने भनेका छन् भने केहीले उम्मेदवारलाई ‘प्रभावशाली छवि भएको नेता’ बनाउने ग्यारेन्टी दिएका छन् । कतिपय एजेन्सीले प्रचार मात्र होइन, तटस्थ मतदातालाई उम्मेदवारको ‘समर्थक’ मा बदल्ने दाबीसमेत गरेको देखिन्छ । यस्ता एजेन्सीहरू डिजिटल माध्यमबाट गरिने चुनावी प्रचारको ठेक्का नै लिएर सेवा दिन तत्पर भएका छन् ।
चुनावी अभियानको डिजिटल रूपान्तरण गरिदिने भन्दै पप्र्लेक्स मिडियाले फेसबुक एड ग्राफिकमा लेखेको छ, ‘बिहारले देखायो–डिजिटलमै जनमत बन्छ, अब नेपालको पालो ।’ उक्त विज्ञापनमा डिजिटल माध्यमलाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गर्ने उल्लेख छ । विज्ञापनमा परम्परागत र्याली र भीडभन्दा बाहिर गएर स्मार्टफोन, सामाजिक सञ्जाल र पडकास्टमार्फत मतदातासम्म सन्देश पुर्याउन सकिने दाबी गरिएको छ ।
आफूहरूले फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबजस्ता प्लाटफर्म प्रयोग गरी उम्मेदवार वा दलको सन्देश व्यापक रूपमा फैलाइदिने उल्लेख छ । एउटा भाइरल भिडियो १० लाख र्याली बराबर र एउटा चल्तीको पडकास्ट एक लाख संवादजत्तिकै प्रभावकारी हुने भन्दै विज्ञापन तान्न खोजिएको छ ।



Comments
Post a Comment